सत्ता गठबन्धन साना दलसँग छलफलमा, एमालेलाई छटपटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने पहल गरेपनि सत्ता गठबन्धनमा देखिएको एकता विभाजनमा नआउँदासम्म सकस देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र राज्यका प्रमुख पदहरुमा भागबण्डा गरेर जाने कुरामा सहमति गर्दासम्म सत्ता गठबन्धन नफुट्ने भएकाले एमालेका लागि नयाँ सरकारको यात्रा सकसमा परेको हो ।

निर्वाचन अघि नेकपा माओवादी केन्द्र र नेकपा एस पार्टी एकता गरेर जाने प्रकृयाको थालनीमा पुगिसकेका छन् । तर उनीहरुले कहिलेबाट पार्टी एकताको प्रकृया शुरु गर्छन् भन्ने बारेमा यकिन बताएका छैनन् । सो नटुंगिए पनि अलग अलग पार्टीको रुपमा सरकारमा सहभागी हुने ती दुई पार्टीका नेताहरुको मनस्थिति रहेको छ ।

सत्तागठबन्धन नफुटाइकन राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य साना दल र सबै स्वतन्त्र सांसद जोड्दा पनि एमालेले बहुमत जुटाउन सक्ने देखिँदैन । एमाले, राप्रपा र जसपाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी १०५ वा १०६ सांसद पुग्ने देखिन्छ ।

बहुमतका लागि अझै ३२–३३ सांसद अपुग हुन्छन् । स्वतन्त्र पार्टीले २२ ९प्रत्यक्षमा सात र समानुपातिकमा १५० सिट ल्याउने देखिन्छ । नागरिक उन्मुक्ति पार्टीका तीन, नेमकिपा र जनमतका एक–एक र पाँच स्वतन्त्र सांसद छन् ।

यी सबैले साथ दिँदा पनि एक सांसद अझै अपुग हुने भएपनि एमाललाई अप्ठेरा पर्ने भएको हो ।

यदि सत्ता गठबन्धन नटुटेमा एमाले पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता सत्ता सञ्चालनका लागि आवश्यक पर्ने पदबाट बाहिर रहनेछ ।

२०७४ सालको भन्दा नेपाली कांग्रेसले आफ्नो आकार बढाएको र माओवादीको घटेका कारणका राज्यका प्रमुख पदहरुको बाँडफाँड पनि त्यसरी नै हुने बताइएको छ ।

०७४ मा एमालेसँगको गठबन्धनबाट माओवादीले १६५ सिटमध्ये ३६ वटामा जित निकालेको थियो । हुम्लाबाट स्वतन्त्र रूपमा जितेका छक्कबहादुर लामा प्रवेश गरेपछि माओवादीको प्रत्यक्षतर्फको सिट संख्या ३७ पुगेको थियो ।

चुनावपछि भएको एमालेसँगको एकीकरण नटिकेपछि माओवादीले यस पटक कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन गरेको थियो । तर उसले ५ वर्षअघिको भन्दा आधा अर्थात् १७ सिटमा मात्रै जित निकाल्न सक्यो । समानुपातिक मत पनि घटेको छ ।

‘अहिलेको अवस्थामा कांग्रेस ठूलो दल भएका अग्रभागमा रहेर उसको निर्णय कुरिरहेका छौं’, नेकपा एसका एक पदाधिकारीले भने ।

उनका अनुसार यतिबेला माओवादीले पनि सबै पदहरुमा आफ्नो हिस्सा खोज्ने भन्दा पाँच वर्ष कसरी सरकार चलाउन सकिन्छ त्यतातर्फ ध्यान दिनुपर्ने भएकाले प्रमुख पदमा कांग्रेस माओवादी नै निर्णयक हुनेछन् ।

‘हामीले अहिलेसम्म केही दाबी गरेका छैनौं । तर समय आएपछि दाबी रहन्छ’, एस पार्टीका ती पदाधिकारीको दाबी छ ।

एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गरेको जानकारी पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसका लागि आन्तरिक गृहकार्य गरेका छन् ।

प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग फोन संवाद गरेको स्रोतको दाबी छ ।

प्रचण्डले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका थिए । उनले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि छलफल गरेका थिए ।

त्यस्तै दुई सिट रहेको प्रभु साहको समूह र स्वतन्त्र जितेका अमरेशकुमार सिंहसँग पनि सत्तागठबन्धनका नेता सम्पर्कमा छन् ।

‘अहिले कांग्रेस नै निर्णायक हो’, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हरिबोल गजुरेलले भने ‘सबैभन्दा ठूला पार्टी हुनुको नाताले गठबन्धन जोगाउने जिम्मा पनि कांग्रेसकै हो ।’

अहिलेसम्मको परिणामअनुसार गठबन्धनका पाँच दलले प्रत्यक्षतर्फ समानुपातिक गरी १३३ सिट पुर्याउने अवस्था छ ।

अहिलेसम्मको समानुपातिक मत केलाउँदा कांग्रेसले ३३ र माओवादीले १५ सिट पाउने देखिन्छ । जसले गर्दा एमालेलाई आफ्नो तर्फबाट सरकार गठनमा सकस परेको हो ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले ओलीकै नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने बताइरहेका बेला गठबन्धन दलहरुले प्रत्यक्ष र समानुपातिक गरी आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार