चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन् । सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पुर्याएका बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै राजधानी बेइजिङ र नान्जिङका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नान्जिङ कम्युनिकेसन युनिभर्सिटीमा सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ । सामाजिक सञ्जाल तथा अनलाइनहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएको पछिल्लो प्रदर्शन निकै दुर्लभमध्येको एक भएको बताइएको छ । आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो । निषेधाज्ञाका समयमा उरुम्चीस्थित एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । उनीहरूको मृत्युपछि निकालिएको जुलुस चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।
चिनियाँ अधिकारीहरूले भने कोरोना भाइरससम्बन्धी प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको अस्वीकार गरेका छन् । तर कैयौं इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको कडा लकडाउन कारक भएको जनाएका छन् ।
चीनको ठूलो सहर तथा विश्वव्यापी व्यापारिक केन्द्र सांघाईमा भएको प्रदर्शनका सहभागीले ‘सी चिनफिङ राजीनामा देऊ, कम्युनिस्ट पार्टी राजीनामा देऊ’ भन्दै नाराबाजी गरेका जनाइएको छ । सेतो ब्यानर बोकेका कतिपय सहभागीले ‘पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ लगायतका नारा लगाएका थिए ।