नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन सकेको छैन । चीनले कोभिडको कारण देखाउँदै भन्सार नाकाहरू एकतर्फी रूपमा मात्रै सञ्चालन गर्दै आएको छ । पटक–पटकको वार्ता तथा छलफलमा नाका दुईतर्फी र पूर्ण रूपमा सञ्चालन गर्ने समझदारी हुने गरे पनि कार्यान्वयन भएको छैन ।
भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको हो । त्यसयता चिनियाँ नाका हुँदै हुने आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै नेपाली सीमाबाट हुने निर्यात रोकेको हो भने आयातमा पनि सहजीकरण गरेको छैन ।
आर्थिक वर्ष ०७८/७९ मा तातोपानी नाका हुँदै नेपालमा १४ अर्ब दुई करोड रुपैयाँबराबरका वस्तु आयात भएका छन् । त्यस्तै, रसुवा नाका हुँदै २६ अर्ब ६२ करोड रुपैयाँबराबरका वस्तु भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर, उक्त नाकाबाट निर्यात हुन सकेको देखिँदैन ।
चिनियाँ परराष्ट्रमन्त्री भ्रमणको चार महिनामा पनि नाका खुलेन
गत चैत महिनामा तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले उत्तरतर्फका दुवै नाकाबाट आयात–निर्यात सहज रूपमा गर्न सकिने प्रबन्ध छिट्टै मिलाउने आश्वासन दिएका थिए । तर उनले भ्रमण गरेको साढे चार महिनामा पनि नाका सहज हुन सकेको छैन । चैत ११ देखि १३ गतेसम्म भएको चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलरर वाङ यीको भ्रमणपछि नाका दुईतर्फी रूपमा खुल्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ‘हामीले औपचारिक र अनौपचारिक दुवै माध्यमबाट नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन आग्रह गर्दै आएका छौँ,’ उनले भने, ‘तर, चिनियाँ पक्षबाट कोभिडको जोखिम न्यून भएलगत्तै खोल्छौँ भन्ने आश्वासन दिइरहनुभएको छ ।’