काठमाडौं महानगरको कार्यपालिका सदस्य संख्या ८ मध्ये ६ प्रतिनिधि कांग्रेसका निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार राष्ट्रिय सभा गृहमा मंगलबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवाहरु निर्वाचित भएका छन् ।
४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । कांग्रेसबाट १९ जना निर्वाचित वडाध्यक्ष यसअघि नै कार्यपालिकामा आइसकेका छन् ।
एमालेबाट उपमेयरसहित १३ जनाले कार्यपालिकामा प्रतिनिधित्व गरेका छन् । एकीकृत समाजवादीका एक निर्वाचित वडाध्यक्षसहित दुई र माओवादीका एक जना पनि कार्यपालिकामा आएका छन् ।
मंगलबार भएको निर्वाचनमा महिला सदस्य पदमा कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी, नेकपा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भए ।
दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादी केन्द्रकी अनिता कार्की ढोली निर्वाचित भए ।
माओवादीले एक जना पनि वडा सदस्य जितेको थिएन । तर दलित र अल्पसंख्यक कोटामा बाहिरबाट पनि कार्यपालिका सदस्य निर्वाचित गर्न सकिने व्यवस्था अनुरुप सत्ता गठबन्धनले माओवादीकी ढोलीलाई कार्यापलिका सदस्यको उम्मेदवार बनाएको थियो ।
गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो । निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।