श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले आफु सर्वदलीय सरकार बनाउन तयार रहेको बताएका छन् ।
सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिँदै उनले संसद्मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको बताएका हुन् ।
देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेबारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए ।
उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार सन्देश प्रवाह गरे ।
सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारे ।
उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत आयोजना गरे ।